आईपीएलमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हारायो

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ । कोलकाताको इडेन गार्डेनमा गएराति भएको खेलमा कोलकाताले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको पञ्जाबले जोनी बेयरस्टोको अविजित शतकमा ८ बल बाँकी छदै दुई विकेट गुमाएर भेट्टायो । पञ्जाबले आईपीएल क्रिकेटमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउनेक्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ । उसका बेयरस्टोले अविजित एक सय ८ तथा शंशाक सिंहले ६८ रन जोडे । प्रभसिमरनले ५४ तथा राइली रोसोउले २६ रन जोडे । कोलकाताका सुनिल नारिनले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको कोलकाताले फिल साल्ट र सुनिल नारिनको अर्धशतकसँगै निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय ६१ रन बनाएको थियो । साल्ट र नारिनले पहिलो विकेटका लागि एक सय ३८ रन बनाएका थिए । साल्टले ७५ रन तथा नारिनले ७१ रन जाडे । पञ्जाबका अर्शदिप सिंहले २, साम करन, हर्सल पटेल, राहुल चाहरले समान एक विकेट लिए । जितसँगै पञ्जाबको ९ खेलमा ६ अङ्क भएको छ । पञ्जाब अङ्कतालिकामा आठौँ स्थानमा छ । कोलकाता ८ खेलमा १० अङ्कसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको राजस्थान रोयल्सको ८ खेलमा १४ अङ्क छ । आईपीएल क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आज दिउँसो पौने ४ बजे दिल्लीमा हुने खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इन्डियन्स तथा बेलुका पौने ८ बजे लखनउमा हुने खेलमा लखनउ सुपर जाइन्ट्स र शीर्षस्थानको राजस्थान रोयल्स खेल्दैछन् ।

प्रतिक्रिया