मैत्रीपूर्ण टी ट्वान्टी शृंखलाको दोस्रो खेलमा नेपाल पराजित

नेपाल पाँच खेलको टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा वेस्ट इन्डिजसँग १० रनले पराजित भएको छ । योसँगै वेस्ट इन्डिजले शृंखलामा १–१ को बराबरी गरेको छ । त्रिबि क्रिक्रेट मैदानमा वेस्ट इन्डिजले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५० रनमा समेटिएको हो । नेपालका कप्तान रोहितकुमार पौडेलले अविजित रहँदै सर्वाधिक ७१ रन बनाए ।  गुल्शनकुमार झाले २६, लोकशबहादुर बम १७ र आरिफ शेख १२ रन जोडे । वेस्ट इन्डिजका ओबेद म्याक कोए र गुडाकेश मोतीले २/२ विकेट लिए। ओशान थोमस र रोस्टन चेजको नाममा १/१ विकेट लिए । त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६० रन बनाएको थियो । वेस्ट इन्डिजका आन्द्रे फ्लेचरले ४३, गुडाकेश मोतीले ३३, रोस्टन चेज २३, जोनसन चार्ल्स  र म्याथ्यू फोर्डे ११–११ र केसी क्यार्थी १० रन जोडे । नेपालका सागर ढकाल, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले २÷२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ’ए’ लाई ४ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको तेस्रो खेल बुधवार, चौथो खेल बिहीवार र पाँचौँ तथा अन्तिम खेल शनिवार हुनेछ । नेपालले आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप वेस्ट इन्डिज ‘ए’ सँग पाँच खेलको शृङ्खला खेल्न लागेको हो । यो शृङ्खलापछि नेपाली टोली टी–२० विश्वकप खेल्न अमेरिका जानेछ । वेस्ट इन्डिज पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

प्रतिक्रिया