आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदै

काठमाडौं । आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । घोडेजात्रा हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन मनाइन्छ ।  जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । तर उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो । यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायतको प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । घोडेजात्राका अबसरमा आज उपत्यकामा सार्वजनिक विदा दिइएको छ ।

प्रतिक्रिया