तेस्रो लगानी सम्मेलन आजदेखि काठमाडौंमा सुरु

एक सय पचास वटा परियोजना ‘सोकेस’ मा राख्दै आजदेखि ‘इमर्जिङ नेपाल लगानी सम्मेलन २०२४’ सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले  औपचारिक उदाटन गरेपछि आज विहानवाट सुरु भएको सम्मेलन सोमबार बेलुकासम्म सञ्चालन हुने छ । उदघाटन सत्रमा प्रधानमन्त्रीसहित २३ जनाले सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनको दुई दिनको अवधिभर नेपालले लगानी भित्र्याउन चाहेका परियोजनाका विषयमा विदेशी र स्वदेशी लगानीकर्तालाई जानकारी गराउने कार्यक्रम राखिएको छ । सोकेसका रूपमा रहने त्यस्ता परियोजनाको प्रदर्शनीबाहेक सम्मेलनभर विभिन्न १० वटा विषयगत छलफल सत्र, नेपालमा लगानीको सम्भावना, विदेशी लगानीकर्ताको अनुभव र सार्वजनिक निजी साझेदारीका विषयमा समेत छुट्टै बृहत् छलफलको कार्यक्रम राखिएको छ । त्यस्तै तोकिएका निश्चित लगानीकर्ताको समूहलाई सोझै प्रधानमन्त्रीलाई भेट्न सक्ने र आफ्ना योजना सार्वजनिक गर्न सक्ने कार्यक्रम पनि सोही क्रममा राखिएको छ । यसबाहेक दुई दर्जन जति बिटुबी व्यवसायी व्यवसायीबिच सोझै हुने छलफलपनि सो क्रममा हुने छ । सम्मेलनकै क्रममा लगानी टुङ्गिएका परियोजनामा सम्झौतासमेत हुने छ । सम्मेलन अवधिभर भएका सम्झौता र उपलब्धिको विवरण सार्वजनिक गर्दै सोमबार समापन गर्ने कार्यक्रम राखिएको छ । सम्मेलनमा सहभागिताका लागि कार्यालयका तर्फबाट दुई हजार चार सय जनाभन्दा बढीलाई निम्तो पठाइएकोमा एक हजार सात सय जनाभन्दा बढीले सहभागिता जनाउने सुनिश्चित भएको छ  । 
 

प्रतिक्रिया