पर्सा प्रहरीद्धारा फरार भारतीय अभियुक्त पक्राउ

पक्राउ पर्नेमा हत्या आरोपी गणेश पासवान

वीरगन्जमा भारतका एक फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ४० वर्षीय बब्लु पासवान भन्ने गणेश पासवान रहेका छन । उनी २०७९ असोज ३ गते  काठमाडौँको गोठाटारमा भएको भारतीय नागरिक लाल महम्मदको हत्याकाण्डका मुख्य योजनाकार र सुटर रहेको प्रहरीले जनाएको छ । सो हत्याकाण्डपछि फरार रहेका उनी प्रहरीको मोस्ट वान्टेडको सूचीमा थिए । आइतबार राति ११ बजेतितर वीरगन्ज–१६ भुटनदेवी मन्दिर क्षेत्रमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा पासवान भाग्न खोज्दा प्रहरीले दुई राउन्ड गोली चलाएको हो । त्यसमध्ये एक राउन्ड गोली पासवानको खुट्टामा लागेर घाइते भएर लडेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पासवान लागू औषधको कारोबारीसमेत रहेको प्रहरीले जनाएको छ । पासवानको साथबाट एक थान पेस्तोल र केहि राउन्ड गोलीका साथै  केहि परिमाणमा लागू औषधपनि बरामद भएको छ । २०७९ असोज ३ मा गोठाटारमा लाल महम्मदको गोली हानी हत्या  भएपछि त्यसमा संलग्न पर्साका महोरम मियाँ, पर्साकै रेहान मियाँ र मकवानपुरकी सुमी भन्ने सुस्मिता स्याङताङलाई प्रहरी २०७९ असोज १४ गते पक्राउ गरेर सार्वजनिक गरेको थियो । तर हत्याकाण्डका मुख्य योजनाकार र सुटर भनिएका पासवान भने फरार रहदै आएका थिए । 
 

प्रतिक्रिया