इपिएस मार्फत कोरिया जाने युवाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने

रोजगार अनुमति प्रणाली इपिएस मार्फत कोरिया जान भाषा परीक्षा उत्तीर्ण गरेर रोस्टरमा रहेका युवाले आफ्नो सेवा क्षेत्र परिवर्तन गर्न सक्ने भएका छन् । वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले सूचनामार्फत कृषि तथा पशुपालन र उत्पादनमूलक क्षेत्रतर्फ रोस्टरमा रहेकाले सेवा क्षेत्र परिवर्तन गर्न सक्ने जानकारी गराएको हो ।  सो शाखाका अनुसार सेवा क्षेत्रका लागि तत्काल परीक्षा नगर्ने र हाल कृषि, पशुपालन र उत्पादनमूलक क्षेत्रमा अन्तिम चरणमा छानिएर रोस्टरमा रहेका नेपालीलाई क्षेत्र परिवर्तन गरी कोरिया जाने अवसर दिएको छ । शाखाको सूचनामा रोस्टरको अवधि २०२४ डिसेम्बर ३१ तारिखभित्र वा आगामी पुस १५ गते समाप्त हुने भएकाले इच्छुक व्यक्तिले रोस्टर परिवर्तन गर्न सक्ने छन् । शाखाका अनुसार नौ हजार ४२८ जनाको नाम प्राप्त भएका छ । यदि कसैले पहिले नै रोजगारदाताले करार सम्झौता गरिसकेको वा रोस्टर अवधि समाप्त भइसकेको वा कुनै कारणले अयोग्य भएमा सेवा क्षेत्र परिवर्तन गर्न भने नपाइने शाखाले सूचनामार्फत स्पष्ट पारेको छ । रोस्टरमा रहेका कतिपय नेपालीको रोस्टर अवधि समाप्त हुने चरणमा रहेका कारण उनीहरूलाई क्षेत्र परिवर्तन गरेर भए पनि तत्काल रोजगारीको अवसर दिन लागिएको हो ।
 

प्रतिक्रिया