श्रमिक माथिको शोषण झनै वृद्धि भयोः जिफन्ट

नेपाल ट्रेड युनियन महासंघ जिफन्टले श्रमिक माथिको शोषण झनै वृद्धि भइरहेको बताएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलन गरी जिफन्टले श्रम ऐन बमोजिमको रोजगार सम्झौता गर्दा समेत नियमित रोजगार सम्झौता गर्नुपर्नेलाई समयगत, कार्यगत गरी श्रमीकलाई मनोवैज्ञानिक रुपमा अनिश्चितता उत्पन्न गराउने काम भैरहेको जनाएको हो । त्यस्तै महासंघले नियमित रोजगार सम्झौता गरी काममा लगाउने श्रमीकलाई तालिम र प्रशिक्षार्थी श्रमिकको रुपमा पारिश्रमीक र सुविधा समेतबाट वञ्चित गर्ने क्रम बढेको भन्दै चिन्ता प्रकट गरेको छ । 
महासंघले श्रम कार्यालयलाई श्रम निरीक्षण गर्ने र हरेक वर्ष पुस मसान्तसम्ममा रोजगारदातालाई श्रम अडिट प्रतिवेदन पेश गर्न लगाउने अधिकार भएपनि श्रम तथा रोजगार कार्यालय, श्रम तथा व्यवसायजन्य सुरक्षा र स्वास्थ्य विभाग उदासिन बनेको आरोप लगाएको छ । श्रम ऐनअनुसार बनाउनुपर्ने व्यवसायजन्य सुरक्षा र स्वास्थ्य नीति, प्रतिष्ठानको आन्तरिक व्यवस्थासँग सम्बन्धित विनियमावली बनाउने प्रतिष्ठान अत्यन्त न्युन संख्यामा रहेको उसको भनाइ छ । श्रम ऐनअनुसार श्रमीकलाई बिदा दिने क्रम बढेको भन्दै महासंघले आपत्ति जनाएको छ ।। 
 

प्रतिक्रिया