इलाम-२ प्रतिनिधि सभा सदस्यमा एमालेका सुहाङ नेम्बाङ विजयी

इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्बाङ विजयी भएका छन् । शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन् । सदरमुकाम इलाम बजारस्थित सिटी हलमा भएको मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्का सुहाङभन्दा डम्बर ५ हजार ८ सय ३० मतले पछि परेका छन ।  दोस्रो भएका उनले २१ हजार ९ सय ४२ मत पाएका छन । त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहेका छन । इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । इलाम–२ मा रास्वपा उम्मेदवार लिम्बू, एकीकृत समाजवादीका उम्मेदवार जितबहादुर राई, राप्रपा उम्मेदवार लक्ष्मी गुरुङ र मंगोल नेसनल अर्गनाइजेसनका उम्मेदवार मनिबहादुर लिम्बूसहित १६ जनाको धरौटी जफत भएको हो । आफ्नो क्षेत्रमा खसेको मतमध्ये कुल सदर मतको १० प्रतिशत मत नकटाउने उम्मेदवारको धरौटी जफत हुने कानुनी व्यवस्था रहेको छ ।  यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो । यसैविच उपनिर्वाचनमा विजयी भएको नेकपा एमालले आज दिउँसो इलाममा विजय सभा गर्ने भएको छ । इलाम बजारमा दिउँसो एक बजे हुने सभामा पार्टी अध्यक्ष केपी ओलीसहितका नेताले सम्बोधन गर्ने एमालेले जनाएको छ । इलाम बजारको सभा सकेपछि नव निर्वाचित संघीय सांसद सुहाङ नेम्बाङ इलाम २ का सबै पालिकामा धन्यवाद ज्ञापनका लागि पुग्ने कार्यक्रम छ ।। 
 

प्रतिक्रिया