बुबाले देखाएको मार्गलाई समाएर इमानका साथ काम गर्नेछु: सुहाङ नेम्वाङ

इलाम क्षेत्र नम्बर २ का नवनिर्वाचित प्रतिनिधि सभाका सांसद सुहाङ नेम्वाङले आफूले इमान्दार र निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । इलाममा आफू निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै उनले इलामेली जनताको शीर झुक्न नदिने गरी इमान्दार र निष्ठापूर्वक जनताको सेवा गर्ने बताएका हुन । नवनिर्वाचित सांसद नेम्वाङले आफ्नो बुबाले देखाउनुभएको बाटो र उज्यालोलाई समाएर आम मतदाताको एक एक मतको मूल्यांकन हुनेगरी काम गर्ने बताए ।
नेम्वाङले नेपाली काँग्रेसका उम्मेदवार डम्बरबहादुर खडकालाई ५ हजार ८३० मतको फराकिलो अन्तरले पराजित गरेका हुन । शनिबार भएको उपनिर्वाचनको अन्तिम मतपरिणाममा सुहाङ २७ हजार ७ सय ७२ मत सहित विजयी भएका हुन् । निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार डम्बर बहादुर खड्काले २१ हजार ९ सय ४२ मत पाएका छन । त्यस्तै, तेस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले १४ हजार ४ सय ५७ मत प्राप्त गरे । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार मिलन लिम्बूले ५ हजार ५० मत प्राप्त गरी चौथो स्थानमा रहेका छन । इलाम २ मा ६९ हजार ३ सय ७४ मत खसेकोमा ९ सय २ मत बदर भएको निर्वाचन आयोगले जनाएको छ । इलाम–२ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा १६ जना उम्मेदवारको धरौटी जफत भएको छ । यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका नेता सुवास नेम्वाङको निधन भएपछि शनिबार उपनिर्वाचन भएको हो ।। 

प्रतिक्रिया