मिडिया कानून निर्माणलाई सरकारले प्राथमिकतामा राखेको प्रधानमन्त्रीको भनाइ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मिडिया सम्बन्धी कानून निर्माणको प्रक्रियालाई सरकारले प्राथमिकतामा राखेको जानकारी दिएका छन । आज काठमाडौंमा नेपाल पत्रकार महासंघको २७ औँ महाधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि मिडियालाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता प्रदान गरी संरक्षण र संवद्र्धन गर्ने नीति लिएको बताएका हुन ।  प्रधानमन्त्री दाहालले प्रेस स्वतन्त्रतामाथि कुनैपनि किसिमको नियन्त्रण वा अंकुश हुन नदिने प्रतिवद्धता पनि जनाए ।
प्रधानमन्त्री दाहालले ज्येष्ठ पत्रकार, अपाङ्गता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गर्न लागेको जानकारी समेत दिए । उनले  आफूले नेतृत्व सम्हाल्दै गर्दा देशको आर्थिक स्थिति र अहिलेको देशको आर्थिक स्थितिमा धेरै सुधार भएको जिकिर समेत गरे । 
प्रधानमन्त्री दाहालले नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल वायुसेवा निगम लगायतका सार्वजनिक संस्थाहरु नाफामा गएको बताएका हुन । लगानीको वातावरण सिर्जना गरिएको, बैंकको ब्याजदर घटाइएको  र लघुवित्त र सहकारीका समस्या समाधानको पहल गरिएको उनको भनाइ थियो । 

प्रतिक्रिया