बैशाख यता आगलागी र डढेलोमा परेर अठार जनाको मृत्यु

काठमाडौं । देशभर आगलागी र डढेलोमा परेरका वैशाख एक गतेदेखि अहिलेसम्म १८ जनाको ज्यान गइसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार सरदर दैनिक एक जनाको ज्यान आगलागी तथा डढेलोकै कारण गइरहेको छ । नेपालमा अहिले ४७ जिल्लाका ३ सय ५० ठाउँमा डढेलो लागिरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राय वन–जङ्गलमा डढेको लागेको कारण नियन्त्रणको लागि दमकल जान सकेको छैन । जान सक्ने ठाउँमा पनि दमकलहरू पर्याप्त नरहेको बताइएको छ । सबैभन्दा बढी गुल्मीसहित सल्यान, कैलाली, सुर्खेत, डोटी, दैलेख, पाल्पा, अर्घाखाँची बढी प्रभावित छन् । डढेलोकै कारण नेपालमा केही दिनयता वायुको गुणस्तर अर्थात् एयर क्रुवालिटी इन्डेक्स–एक्यूआई उच्च मापन हुन थालेको छ । गत चैत १८ देखि बिहीबारसम्म एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी का घटना भएका छन् । यस अवधिमा आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ । घटनामा ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन् । आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ ।आगलागी र डढेलोको कारण २०७८ सालमा ९५ जनाको ज्यान गएको थियो । २०७९ सालमा ११० जना र गत वर्ष २०८० सालमा ११५ जनाको मृत्यु भएको थियो । डढेलो नियन्त्रणका लागि पर्याप्त साधन स्रोत र जनशक्तिको अभाव भएकाले डढेलो फैलिएको विज्ञको भनाइ छ । डढेलोको कारण पछिल्ला दिनहरूमा डढेलोले प्रदूषण निम्ताएपछि देशभरको आकाशमा तुवाँलो छ ।

प्रतिक्रिया