गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आईतबार विश्वासको मत लिने

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आईतबार विश्वासको मत लिने भएका छन् । आइतबार दिउँसो ३ बजे प्रदेशसभा बैठक बस्ने तय भएको प्रदेशसभा सचिवालयले जनाएको हो । विश्वासको मत लिनका लागि मुख्यमन्त्री कार्यालयबाट प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता भएको छ । संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री अधिकारीले वैशाख २४ गतेसम्ममा विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्टले चैत २५ गते नेकपा एमाले संसदीय दलका नेता अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारी मुख्यमन्त्री नियुक्त भएका हुन् । सभामुखसहितको समर्थनमा मुख्यमन्त्री नियुक्त भएपछि नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा रिट दायर गरेकोे थिए । सर्वोच्चले सभामुखबाहेक ५९ प्रदेश सभा सदस्यको ३० जनाले बहुमत पुग्ने व्याख्यासहित बैशाख १७ गते रिट खारेज गरेपछि अधिकारीलाई विश्वासको मत लिने बाटो खुलेको हो । प्रदेश प्रमुख डिल्लीराज भट्टले मन्त्रीपरिषद्को सिफारिसमा यसअघि नै बैशाख ७ गते प्रदेश सभाको विशेष अधिवेशन डाकेका थिए । प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाले उक्त बैठक बहिष्कार गरेपछि स्थगित भएको थियो । राप्रपाले समर्थन नजनाएसम्म मुख्यमन्त्री अधिकारीले विश्वासकोे मत प्राप्त गर्ने अवस्था देखिँदैन । त्यसैले गठबन्धन दलले राप्रपालाई फकाइरहेका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अधिकारीको पक्षमा नेकपा एमालेको २२ र माओवादी केन्द्रको ८ जना सभामुख  सहित र स्वतन्त्र निर्वाचित भएर नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजिव गुरुङ  छन् । गण्डकीमा प्रतिपक्षी कांग्रेसका २७ र राप्रपाका २ सांसद् छन् ।

प्रतिक्रिया